बेसींशहरका ‘एङग्री बर्ड्स्’

विजयले रोभियोमा पुगेर ल्याएका प्रस्तावहरुको व्यवहारिक कार्यान्वयनले नै  ‘एङग्री बर्ड्स’ सबैभन्दा चर्चित मोबाइल एप्लिकेशन बनेको हो । 

गणेश आचार्य

लमजुङको बेसीशहरमा जन्मेर, हुर्केका विजय गुरुङ (३६) अहिले फिनल्याण्डमा आफ्नो सफलताको ‘सिल्भर जुब्ली’ अर्थात् २५ औं वर्षगाँठ मनाउँदैछन् । २५ वर्षकै उमेरमा सफ्टवेयरको अन्तराष्ट्रिय बजार छिरेका गुरुङको पछिल्लो दशक सफलता, नाम र दाम सबै हिसाबले धेरैको लागि ‘आइडल’ हो । उनी भन्छन्, “मेरा धेरै सपनाहरु विस्तारै विपनामै परिणत भएका छन् ।” विश्वमा सबैभन्दा धेरै डाउनलोड भएको गेम ‘एङग्री बर्ड्स’ बनाउने कम्पनी रोभियोमा कि डाइरेक्टरको कुर्सी सम्हालिरहेका विजय गुरुङको सफलताको कथाले धेरैलाई उनीजस्तै बन्ने सपना दिलाउँछ ।

रोभियोको हेडक्वार्टरमा रोभियोका कि डाइरेक्टर विजय गुरुङ् ।

रोभियोको हेडक्वार्टरमा रोभियोका कि डाइरेक्टर विजय गुरुङ् ।

१० वर्षको हुँदा, विजयले बुढानीलकण्ठ स्कुल पढ्ने जाँच दिए । त्यसताका बुढानीलकण्ठको ‘ग्ल्यामर’ले तानेर जाँच दिएका सयौं विद्यार्थी मध्ये उनी पनि एक भाग्यमानी ठहरिए । आफन्त र नातागोताले “अब विजयले भविष्य माथि विजय गर्ने भयो” भन्ने भविष्यवाणी गरे । सबजनाले काँधमा धाप मार्दा, त्यतिखेरका फुच्चे विजयको छाती गर्वले चौडा बनायो । उनले एसएलसी पछि ओ–लेभलसम्मको पढाई बुढानीलकण्ठबाटै पुरा गरे । ६ घण्टा लामो बस यात्रा गर्दै लमजुङबाट काठमाडौं आइपुगेका विजयले त्यसपछि घण्टौं लामो हवाइ यात्रा गर्ने अवसर पाए । सन् १९९७ मा बुढानीलकण्ठबाट छानिएर बेलायतमा अन्तराष्ट्रिय डिप्लोमा पढ्न पाउने ६ जनामध्ये विजय पनि एक थिए । त्यसपछि विजयको जीवनले त्यही हवाइजहाजजस्तै गति पक्रियो । विश्वका विभिन्न देशका २० जना विद्यार्थीहरुबीच लण्डनमा २ वर्ष ब्याकालुरेट डिप्लोमा पढ्दादेखि नै उनलाई सफ्टवेयर र एप्लिकेशनहरुको बढ्दो बजारले तान्न थालिसकेको थियो ।

फिनल्याण्डमा रहेको रोभियोको हेडक्वार्टरमा एङ्ग्री बर्डको अपडेटबारे साथीसंग छलफल गर्दै विजय गुरुङ् ।

फिनल्याण्डमा रहेको रोभियोको हेडक्वार्टरमा एङ्ग्री बर्डको अपडेटबारे साथीसंग छलफल गर्दै विजय गुरुङ् ।

डिप्लोमा सकेपछि थप अध्ययनका लागि फिनल्याण्ड पुग्दा, त्यहाँको पढाईलाई ब्याचलर या मास्टर्स भनेर छुट्याइएको थिएन । उनले मास्टर्सको पढाई सुरु गरे, फिनल्याण्डमै । स्टुडेन्ट एक्स्चेन्ज अर्थात् विद्यार्थी अदलबदल कार्यक्रम मार्फत उनलाई कलेजले केही महिनाका लागि अमेरिका पठायो । अमेरिकाबाट फर्केपछि उनले २००५ बाट केही काम सुरु गर्ने विचार गरे । मोबाइलका लागि गेम बनाउने एउटा विल्कुल नयाँ र सानो प्रोजेक्टमा काम गर्न सुरु गरेदेखि उनी एप्लिकेशनको विकास र प्रबद्र्धनमा एकसुरले लागिरहे । विजय सम्झन्छन्, “त्यतिखेरको मोबाइल विजनेश भनेको सबै सेवा प्रदायकको हातमा हुन्थ्यो । रिङटोनदेखि गेम जस्ता सबै कुरामा सेवा प्रदायकहरुले नै पकड जमाएका हुन्थे ।” त्यतिखेरको एप्लिकेशन डेभलपमेण्ट अहिलेजस्तो सजिलो कहाँ थियो र ! जाभा प्रविधिका एपहरु मात्र चल्ने मोबाइलमा पनि स्क्रिनको आकार लगायतमा विविधता भएका कारण एउटै एप्लिकेशन पनि दर्जनौं भर्सनहरु बनाउनु पर्थ्यो । अहिले एप्लिकेशन निर्माताहरुले कुल रेभेन्युको ७० प्रतिशतसम्म शेयर पाउँछन् । तर त्यतिखेर ५० प्रतिशत पाउनु भन्नु पनि निकै भाग्यको कुरा हुन्थ्यो । काम गर्न झण्झट, पैसाको मामलामा पनि त्यति सन्तोषजनक नहुने । त्यसैकारण संगै गेम बनाउने करिअर सुरु गरेका धेरै साथीहरुले उनको साथ छोडे तर विजयले सानो छँदा काँधमा मारिएको धापहरु सम्झे, र आफ्नो यात्रा रोकेनन् ।

एङ्ग्री बर्डको चरा र सुगुंरको खेलौनाका साथ विजय गुरुङ् ।

एङ्ग्री बर्डको चरा र सुगुंरको खेलौनाका साथ विजय गुरुङ् ।

“२ वर्ष जति त्यही कम्पनीमा काम गरेपछि मैले रियल प्लेयर भन्ने कम्प्युटर सफ्टवेयर बनाउने कम्पनीका लागि काम गर्न थालें ।” त्यतिखेरको उत्कृष्ट मानिएको मिडिया प्लेयर, रियल प्लेयरका  लागि काम गर्न सुरु गर्नु विजयका लागि सफलताको अर्को खुड्किलो थियो । सफलतासंगै उनको मनोबल, ज्ञान, व्यवसायिक जिम्मेवारी र आम्दानी सबै, धेरै नै बढ्यो । उनको एउटा महत्वपूर्ण सपना तब पुरा भयो, जब उनी जोडिए रोभियोसंग ।
२००३ मा स्थापना भएको रोभियोले ‘एङग्री बर्ड्स’ भन्दा पहिले ५१ वटा अरु एप्लिकेशन बनाइसकेको थियो तर कुनैपनि एप्लिकेशनले बजार तताएको थिएन । असफलताले डोर्याउँदै जाँदा रोभियोमा ७ जना डेभलपरहरु मात्र बाँकी थिए । अन्तिम प्रयास स्वरुप आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर त्यो टोलीले ‘एङग्री बर्ड्स’ बनायो । गेम लन्च भएको १ वर्षपछि सन् २०१० मा विजय रोभियासंग जोडिए, कि डाइरेक्टरको कुर्सी सम्हाल्दै । उनी आउँदासम्म ‘एङग्री बर्ड्स’ आइओएस प्रयोगकर्ताहरुका लागि मात्र र डाउनलोड गर्न पैसा तिर्नुपर्ने खालको थियो ।
जागीरको सुरुमै उनले एकदमै चुनौतीपूर्ण काम पाए, तुरुन्त ‘एङग्री बर्ड्स’ को प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढाउने । चीन, ताइवान, कोरिया लगायतका देशका मोबाइल फोनको सेवा प्रदायकहरुसंग उनले गरेका सम्झौताहरुले केही हप्तामै नतिजा देखाउन सुरु गरिसकेका थिए । डाउलनोड गर्नेहरुको संख्या बढाउनकै लागि विजयको टोलीले ‘एङग्री बर्ड्स’ लाई एण्ड्रोइडमा समेत लैजाने र सित्तैमा डाउनलोड गर्न दिने निर्णय गर्यो । “तर प्रश्न आयो, सित्तैमा दिएर कसरी आम्दानी गर्ने ? लामो समय हामी छलफलमा व्यस्त रह्यौं । त्यसपछि गेममा विभिन्न एड नेटवर्कहरु मार्फत प्रचार सामग्री राख्ने निर्णय भयो । ती एड नेटवर्कहरुसंग सम्झौता गर्ने जिम्मा पनि मेरै थियो ।” अमेरिका, चीन र पूर्वी एशियाका धेरै देशमा रहेका एड नेटवर्कहरुसंगबाट विजयले सम्झौताको प्रक्रिया सुरु गरे । सामसङ, एलजी, सोनी, नोकिया लगायतका धेरै मोबाइल फोन उत्पादकहरुसंग विजयकै अगुवाईमा सम्झौताहरु भए । त्यसैका कारण नयाँ मोबाइल सेटहरुमा समेत ‘एङग्री बर्ड्स’ पहिले नै इन्स्टल भएर आउन थाल्यो ।

विभिन्न देशका डेभेलपरहरुसंग विजय गुरुङ् ।

विभिन्न देशका डेभेलपरहरुसंग विजय गुरुङ् ।

रोभियोमा एउटा उच्च तहको पद सम्हालेर विजयले धेरै देशहरुको भ्रमण गरेका छन् । सिंगापुर, कोरिया, चीन, थाइल्याण्ड, मलेसियामा आयोजना भएका विश्व स्तरका प्रविधि सम्मेलनमा उनले स्टेजमा उक्लेर हजारौं प्रविधिविज्ञहरुको अगाडी ‘एङग्री बर्ड्स’ कै बारेमा प्रस्तुती दिएका छन् । आफ्नो प्रस्तुतीले पाएको तालीलाई पनि उनी सम्पत्तिकै रुपमा लिन्छन् । व्यक्तिगत भेटघाटमा थुप्रै देशका मान्छेहरुले विजयलाई सुनाएका अचम्मलाग्दा कथा उनी अझै सम्झन्छन् । “ती कथाहरुले भित्रभित्रै गर्वको आभास हुन्छ । यति धेरै कथासंग जोडिएको कम्पनीको एउटा महत्वपूर्ण हिस्सा हुन पाएको छु भनेर भित्रैदेखि खुशी हुन्छु ।” विजयको खुशी उनको आवाजमै झल्कन्छ, जब उनी भन्छन्, “कोरियाको सोलमा अफिसियल भ्रमणमा थियौं । खाली समयमा हामी बजार घुम्न थाल्यौं । धेरैजसो पसलका साहुहरु पसल अगाडी कुर्सीको आडलाई अगाडी पारेर ‘एङग्री बर्ड्स’ खेलेको देखें । मैले म ‘एङग्री बर्ड्स’ गेम बनाउने कम्पनीमा काम गर्छु भनेर कार्ड देखाउँदा सबैजना हाहाहुहु गरेर उनीहरुकै भाषामा कराउन थाले । त्यसमध्ये एकजनाले त आफ्नो छोरा रुँदा ‘एङग्री बर्ड्स’ ले नै फकाउने रैछन् । २० जना जति झुम्मिएर एकएक गरी फोटो खिच्न थाले ।”

सिंगापुरमा भएको प्रविधि सम्मेलनमा एङ्ग्री बर्डको बारेमा प्रस्तुति दिंदै विजय गुरुङ् ।

सिंगापुरमा भएको प्रविधि सम्मेलनमा एङ्ग्री बर्डको बारेमा प्रस्तुति दिंदै विजय गुरुङ् ।

‘एङग्री बर्ड्स’ को प्रारम्भिक रिलिज अहिलेभन्दा निकै फरक थियो । त्यतिखेर अहिले खलनायकका रुपमा देखिने सुंगुर थिएन । विजयको टोलीले ‘एङग्री बर्ड्स’ को कथा परिमार्जन गर्दै यहाँसम्म ल्याइपुर्याएका छन् । “चरा किन रिसाएको छ, थाहा छ ? उसको अण्डाहरु त्यो सुंगुरले चोरेर आफ्नो ठाउँमा ल्याएको छ त्यहिभएर । अनि ती अण्डाहरु बचाउन चराले गुलेलीले सुंगुर मार्न सुरु गर्छ ।” सुरुमा ‘एङग्री बर्ड्स’ को ग्राफिक्स र साउण्ड पनि निरन्तरको छलफल पछि अझै सशक्त बनाउँदै लगेको विजय बताउँछन् । “एण्ड्रोइडमा जसरी हामीले सित्तैमा डाउनलोड गर्न मिल्ने बनायौं, त्यसले ‘एङग्री बर्ड्स’ निकै पपुलर हुन पुग्यो । त्यसपछि धेरैले ‘एङग्री बर्ड्स’ को कथालाई गणितका किताबमा समेत राख्न थाले । २ वटा चरा र ३ वटा सुंगुर जोड्यो भने कति हुन्छ भन्दै ।”
अहिलेसम्म आइओएस र एण्ड्रोइड सबै गरी ‘एङग्री बर्ड्स’ २० खर्ब पटक डाउनलोड भइसकेको छ । विजयकै अग्रसरतामा ‘एङग्री बर्ड्स’ को एनिमेटेड कार्टुन भारत लगायत विश्वका २० भन्दा बढी देशका टेलिभिजनहरुमा प्रसारण भइरहेको छ । “२०१६ मा हामी हलिउडबाट एनिमेटेड फिल्म बनाउँदैछौं । अनि हाम्रो कार्टुन किताब, अरु केही पब्लिकेशन लगायतका कामको जिम्मा पनि मैले नै लिएको छु ।” प्रष्ट छ, हामीले अहिले खेलिरहेको ‘एङग्री बर्ड्स’ हाम्रो आइओएस या एण्ड्रोइड डिभाइससम्म आइपुग्नुमा विजयको ठूलो योगदान छ । उनको योगदानलाई ८ सय ५० जना कर्मचारी रहेको रोभियोले मात्र हैन, प्रतिस्पर्धी कम्पनीहरुले पनि उच्च मुल्यांकन गरेका छन् । साधारण परिवारमा जन्मेर पनि अन्तराष्ट्रिय स्तरको सबैभन्दा प्रसिद्ध गेमको वितरणका प्रमुख व्यक्ति विजय, उनका आफन्तले भनेझै साँच्चै भविष्य माथि नै विजय प्राप्त गर्दैछन्, नाम, दाम र सफलताले ।

एयर एशियाका प्रमुख कार्यकारी टोनी फर्नान्डेजका साथ विजय गुरुङ् ।

एयर एशियाका प्रमुख कार्यकारी टोनी फर्नान्डेजका साथ विजय गुरुङ् ।

विजय वर्षमा एकपटक बुवा आमालाई भेट्न उनी नेपाल आउँछन् । गाउँका साना भाइबहिनीहरुलाई ‘एङग्री बर्ड्स’ का स्टिकरहरु बाँड्छन् । गिफ्ट पाएर रमाउने नानीहरुको मुहार देखेर उनलाई ‘एङग्री बर्ड्स’ लाई नेपालसंग पनि जोड्ने सपना छ । “यता उल्लेख्य रुपमा बजारको विस्तार भइसकेको छैन । फेरि चीन र भारतमार्फत् केही काम भइरहेकाले यो क्षेत्रमा थप विस्तार गर्ने योजना तत्कालका लागि छैन ।” विजय बताउँछन्, “तर व्यक्तिगत रुपमा केही कामहरु गर्ने योजना भने नबनेको हैन ।”
“यत्रो ठूलो जिम्मेवारीका साथ काम गर्दा विभिन्न देशका मान्छेहरुसंग डिल गर्नुपर्ला, अप्ठेरो महसुस हुँदैन ?” विजयले हाँसो सहित उत्तर दिए, “१ सय भन्दा बढी भाषा, संस्कृति, जात भएको सामाजिक स्तर, धर्म लगायतका कुरामा समेत विशाल विविधता भएको नेपालमा जन्मेर पनि होला मलाई खासै अप्ठेरो लागेन ।” उनी भन्छन्, “ममात्र हैन, विदेशमा रहेका नेपाली साथीहरु सबैमा यो गुण देखेको छु ।” रोभियो भित्रै पनि एउटा सिर्जनशील, मिहिनेती र इमान्दार कर्मचारीका रुपमा चिनिन्छन्, विजय गुरुङ । उनले १० वर्षभित्रै मारेको फड्कोले उनलाई आउँदो दशकमा अझै ठूलो सफलता मिल्ने संकेत गर्छ ।

—————————————————————————–

हिमाल खबरपत्रिकाको फागुन ४, २०७० अंकमा प्रकाशित  (http://www.himalkhabar.com/?p=58390)

2 thoughts on “बेसींशहरका ‘एङग्री बर्ड्स्’

Leave a comment